निशाचरहरुको यो सहरमा,
अघोरीहरुका बस्तीहरुमा।
डुबिरहेछन् आफ्नैहरु,
स्वार्थ र दम्भको गहिराइमा।
रमाइरहेछन् धूर्तहरु,
छलकपटको रमझममा।
तडपिरहेछन् मान्छेहरु,
जीवन र मृत्युको दोसाँधमा।
छटपटाइरहेछन् आशाहरु,
इमान र जमानको चिहानमा।
नाचिरहेछ विश्वास कसैको,
दम्भ र अहङ्कारको उन्मादमा।
रोइरहेछन् मान्छेहरु,
आशा र निराशाको दोसाँधमा।
तडपिरहेछन् आत्माहरु,
जिउँदा मान्छेको नजिकमा।